२०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते

नेपाल र अफ्रिकाको दाैत्य सम्बन्धको बारेमा नेपाली राजदूतसँग गरिएको कुराकानी

मंगलवार, माघ ६ २०८२०२:२८

नेपालको काठमाडौँ जिल्लामा जन्मनु भएका प्राध्यापक कपिल श्रेष्ठ हाल दक्षिण अफ्रिकाका लागि नेपाली महामहिम राजदूत हुनुहुन्छ । २१ वर्षको उमेरमै प्राध्यापन पेशामा लाग्नु भएको श्रेष्ठले ४३ वर्ष सोही पेसामा गुजार्नुभयो । त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रको प्राध्यापन सँगै उहाँले सिनियर भिजिटिङ प्रोफेसरको रूपमा माहिडोल यूनिभर्सीटी थाइल्याण्डमा पनि प्राध्यापन गर्नुभयो ।

मानव अधिकारको क्षेत्रमा अत्यन्त चासो राख्दै उहाँ सन् २००० देखी २००५ सम्म राष्ट्रिय मानव अधिकार आयोगको  सदस्य समेत हुनुभयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा लामै समय सक्रिय भूमिका निर्वाह गर्दै उहाँले नेपाली तथा अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा दर्जन भन्दा बढी लेखहरू प्रकाशीत गर्नुभयो । अद्यनमा अत्यन्त रुची राख्ने श्रेष्ठ वि.सं. २०८१ साल मंसिर १६ गते देखी दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रस्तुत छ उहाँको कूटनीतिक क्रियाशीलताको सन्दर्भमा रहेर सञ्जाल खबरकर्मी अञ्जन पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :-

दक्षिण अफ्रिका र नेपाल बिचको कूटनीतिक सम्बन्ध कस्तो रहेको छ र कहिले स्थापित भयो ?

दक्षिण अफ्रिका र नेपालको गजबको सम्बन्ध रहेको छ । दक्षिण अफ्रिकामा रङ्गभेदी शासनको विरोधीहरूलाई नेपालले समर्थन गरेको थियो । नेल्सन मण्डेला जस्तो आदर्श पुरुषको कुशल नेतृत्वमा दक्षिण अफ्रिका १९९३ को रङ्गभेदी शासनबाट मुक्त भयो । नेपालमा ४६ साल यता जुन सङ्क्रमणकाल पार गर्यौँ त्यस्तै दक्षिण अफ्रिका पनि नेपाल जस्तै सङ्क्रमणकालीन अवस्था पार गरेको हुनाले हाम्रा शासकीय स्वरूपहरूमा धेरथोर समानता पाइन्छ ।

पञ्चायत कालमा पनि नेपालले संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसँग सम्बन्धी जातीय भेदभाव विरुद्धको अन्तरराष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेर दक्षिण अफ्रिकाको रङ्गभेदी शासन विरुद्ध एैकेबद्धता जनाएको थियो ।

दक्षिण अफ्रिकामा नेपाली राजदूतावास २०१० मा स्थापना भएसँगै दुई देश बिच पारस्परिक सम्बन्ध स्थापित भएको हो । नेपाल भौगोलिक दुरीको हिसाबले टाढा भएतापनि दुई देश बिचको कूटनीतिक सम्बन्ध गाढा रहेको छ ।

पहिला-पहिला अफ्रिका भन्दा इजिप्ट र मोरक्को जस्ता देशहरूलाई बुझिने गरिन्थ्यो । नेल्सन मण्डेलाको उदय पश्चात् अफ्रिका भन्ने बित्तिकै दक्षिण अफ्रिका भन्ने नामले चिनिन थालेको छ ।

कूटनीति (डिप्लोमेसी) मा मुख्य उद्देश्य नेपाल र नेपालीको हित सम्बद्धनको लागि के कति गर्न सकिने रहेछ म त्यो हेरीरहेको छु ।

विकास साझेदारको हिसाबले यहाँको अनुभवको आधारमा दक्षिण अफ्रिकालाई नेपालको विकासका कुन-कुन क्षेत्रहरूमा सहभागी गराउन सकिन्छ ?

दक्षिण अफ्रिकासँग आपसी सम्बन्धको आदान-प्रदान व्यवस्थित एवं दीर्घकालीन प्रभाव रहने गरी सम्बन्ध विस्तार गर्ने मेरो प्राथमिकता रहेको छ । म यहाँ राजदूत भएर आएपछि नेपालसँग दौत्य सम्बन्ध स्थापित भएका विभिन्न देशका राजदूतहरूसँग परामर्श गरीरहेको छु ।

विकास साझेदारको रूपमा दक्षिण अफ्रिकी व्यापारीहरूलाई पर्यटन तथा अन्य उद्योगमा लगानी गराउन राजदूतको हैसियतले पहल गर्न सकिने सम्भावनाहरू छन् । त्यसलाई मेरो कार्यकालमा नतिजा देखीने गरी काम गर्नेछु । 

नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन जुन लक्ष लिएको छ त्यसलाई राजदूतको हैसियतले दक्षिण अफ्रिकी ब्यापारीहरूलाई नेपालको राजनैतिक स्थायित्व र लगानीमैत्री नियम-कानुनका कुराहरूलाई प्रस्ट रूपमा राख्नेछु ।

पर्यटकीय भिसामा नेपाल देखी दक्षिण अफ्रिका आउने नेपालीहरूलाई भिसा लगाउनकै निमित्त भारतको नयाँ दिल्ली जानुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने बाध्यता रहेको छ । यसलाई नेपालस्थित भि.एफ.एस सर्भिस मार्फत गराउनका निमित्त मेरो अधिकतम प्रयास रहने छ ।

नेपालको पर्यटन प्रवर्धनको सम्भावना कस्तो रहेको छ ?

अफ्रिकीहरू पनि नयाँ ठाउँहरूको दृश्यावलोकन गर्न रुचाउने हुँदा उनिहरूलाई नेपालमा जङ्गल सफारी, ट्रेकिङग, एड्भन्चरको क्षेत्रमा नेपाल भित्र्याउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ ।  हरेक वर्ष जस्तो कम्तीमा पनि एक जना दक्षिण अफ्रिकीले सगरमाथा आरोहण गरेको पाइएको छ ।

अहिले सरदरमा वार्षिक ३ देखी ४ सयको सङ्ख्या दक्षिण अफ्रिकीहरू नेपाल भ्रमण गर्ने गरेको पाइन्छ । यो सङ्ख्यालाई कम्तीमा ५ देखी १० हजारसम्म पुर्‍याउने लक्ष मैले लिएको छु ।

अफ्रिकामा नेपाली समुदाय तथा एनआरएनएको कस्तो उपस्थिति रहेको छ ?

निकै लामो समय देखी यहाँ नेपालीहरू कार्यरत छन् । दक्ष जनशक्तिको रूपमा नेपालका ३-४ सय डाक्टरहरूले राम्रो सेवा दिइहेकाछन् ।

दक्षिण अफ्रिकाको नेपाली राजदूतावासले अफ्रिकाको अन्य २३ वटा देशहरूको कूटनीतिक सम्बन्ध हेर्नु परेकाले हामीसँग जनशक्ति अभाव खड्की रहेको छ । हामीसँग भएको सीमित स्रोतबाट अधिकतम सेवा प्रवाहमा सोचे अनुरूप हुँदैन । यसमा एनआरएनको सक्रियताले राज्यलाई ठुलो टेवा मिलेको छ । नेपालको बृहत्तर हित प्रवर्धनमा उनिहरूको क्रियाशीलता प्रशंसनीय रहेको पाएको छु । यसलाई निरन्तरता दिन अनुरोध पनि गर्दछु ।

शिक्षा तथा व्यापारमा के कस्ता सम्भावनाहरू देख्नु भएको छ ?

दक्षिण अफ्रिकाको विश्वविद्यालयहरूमा पढाइने शिक्षा उच्च स्तरको छ । यहाँ बसोबास खर्च अन्य देशको तुलनामा निकै कम खर्चिलो छ । त्यसैले हामीले हाम्रा विदेश पढ्न नगइ नछोड्ने भाई बैनीहरूलाई दक्षिण अफ्रिकामा पढ्न जानको निमित्त कुरा राख्न सक्छौँ ।

दक्षिण अफ्रिकामा वाल कार्पेटको चलन रहेछ । यहाँ इरान र टर्कीको कार्पेटको अधिक प्रयोग भइरहेको छ । नेपाली कार्पेटलाई दक्षिण अफ्रिकामा निर्यात गर्न सकिने सम्भावना देखेको छु । छुर्पी पनि निर्यात गर्न सकिन्छ । नेपाली हस्तकलालाई व्यापक प्रचार-प्रसार गरी दक्षिण अफ्रिका भित्र्याउन सकिन्छ ।

दक्षिण अफ्रिकाबाट नेपाल निर्यात गर्ने सवालमा किफायत मूल्यको वाइन जुन अहिले नेपालमा प्रयोग गरीनेभन्दा कम मूल्यमा फ्रेन्च वाइन जस्तै उच्च गुणस्तर र स्वादको वाइन निर्यात गर्न सकिन्छ ।

अन्तमा नेपालको बृहत्तर हितका निमित्त यहाँको भावी योजनाहरू के रहेको छ ?

वासिङटनपछिको सबैभन्दा धेरै देशको कूटनीतिक नियोगहरू दक्षिण अफ्रिकामै छ । नेल्सन मण्डेलाकै आकर्षणले सबैको ध्यान खिचेको पाइन्छ ।

 

हाम्रो परराष्ट्र नीति र सम्बन्ध परराष्ट्र मन्त्रालय मार्फत आवश्यकता अनुरूप परिमार्जित हुनु पर्ने देखेको छु । यसलाई एकीकृत नीति मार्फत सम्बोधन गर्न सकिन्छ ।

कूटनीति (डिप्लोमेसी) मा वेला बखत संयुक्त राष्ट्रसङ्घमा चाहिने भोटको लागि हामीले हाम्रो कूटनीतिक सम्बन्ध स्थापित भएका मुलुकहरूसँगको सहकार्ययतालाई प्रश्रय दिएर उनिहरूको समर्थन हाम्रो पक्षमा ल्याउन वातावरण तय गर्नु कूटनीतिक कुशलता झल्किन्छ । त्यसैले मेरो ध्यान त्यसमा पनि केन्द्रित रहनेछ ।

आर्थिक पक्षलाई वकालत गर्न सक्ने क्षमतावान् कर्मचारीको जरुरत छ ।  म राजदूतको रूपमा एउटा फरक राजदूतको छाप छोड्नुपर्छ भन्नेमा दृढताकासाथ लागेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार